गोर्खा संगठनद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

spot_img

काठमाडौं- भूतपूर्व गोर्खा सैनिक संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरूको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा संगठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ।

त्यस्तै, भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्‌सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ। 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भुपू गोर्खा सैनिक संगठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन्। विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरूको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरूप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताए।

ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा