टिकट वितरणमा आर्थिक चलखेल अन्त्य गरी ग्रासरुटबाटै उम्मेदवार छानिनुपर्छ : निलकण्ठ रिजाल

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य निलकण्ठ रिजालले पार्टीमा जिम्मेवारी र अवसर बाँड्दा चरम गुटबन्दी र आर्थिक चलखेल पूर्ण रूपमा अन्त्य गरिनुपर्ने बताएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै युवा नेता रिजालले हिजो पार्टीभित्रका विकृति र कमी-कमजोरीमा निडर भएर प्रश्न उठाउने साथीहरू नै आज नेतृत्वमा पुगेकाले अब संगठन विस्तारमा निस्कँदा “प्रश्नरहित तर उत्तरसहित” भएर जानुपर्नेमा जोड दिएका हुन्।

पार्टी संगठन सुदृढीकरणका सातबुँदे सुझाव प्रस्तुत गर्दै नेता रिजालले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघको कार्यसमितिलाई तत्काल पूर्णता दिई नेपाल महिला संघलगायत सबै भातृ संस्थाहरूको शीघ्र महाधिवेशन सुनिश्चित गर्न स्पष्ट समयसीमा तोक्न माग गरे। साथै, जिल्ला र प्रदेश अधिवेशनका मिति अविलम्ब तोकिनुपर्ने बताउँदै उनले दुख गरेका निष्ठावान र क्षमतावान साथीहरूलाई न्याय र विवेकपूर्ण मूल्याङ्कनको विश्वास तल्लो तहसम्म दिलाउनुपर्ने धारणा राखे।

आगामी स्थानीय तह निर्वाचनको तयारी अहिलेदेखि नै थाल्नुपर्ने उल्लेख गर्दै रिजालले केन्द्रबाट टिकट वितरण हुने परम्पराको अन्त्य गरी स्थानीय ग्रासरुटका साथीहरूबाटै पारदर्शी विधिद्वारा उम्मेदवार छनोट हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। “पार्टीमा जिम्मेवारी दिँदा वा टिकट बाँड्दा आर्थिक हैसियत हेर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ। सामान्य आर्थिक हैसियत भएका नागरिकले पनि कांग्रेस राजनीतिमा आफूलाई स्थापित गर्न सक्ने वातावरण बन्नुपर्छ,” उनले भने।

जनसरोकारका विषयमा बोल्दै नेता रिजालले भोटेकोशी र बूढीगण्डकी बाढीपीडितले ३ महिना बितिसक्दा पनि सरकारी राहत र पुनःस्थापना पाउन नसकेको, राहत गोदाममै थन्किएको तथा किसानहरू बिचौलियाको चर्को मारमा परेर उपभोक्ताले पाँच गुणा महँगो तिर्नुपरेको विषयमा कांग्रेसले सडक र सदन दुवैबाट सरकारलाई कडा दबाब दिनुपर्ने बताए। साथै, दीर्घकालीन आवास, शिक्षा र रोजगारीको विकल्पविना सुकुमबासीका घरटहरा भत्काएर होल्डिङ सेन्टरबाट समेत लखेट्ने सरकारी कदम अमानवीय रहेको उनको भनाइ थियो।

वर्तमान सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै केन्द्रीय सदस्य रिजालले सुरक्षा निकाय, न्यायालय र संवैधानिक अंगहरूमा सरकारी हस्तक्षेप बढेको आरोप लगाए। राज्य संयन्त्र प्रधानमन्त्रीको सचिवालयको लहड र आतंकबाट सञ्चालित हुन खोजेको भन्दै उनले विधिको शासन र लोकतन्त्रको रक्षाका लागि कांग्रेस दृढ भएर उभिनुपर्ने बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा