कांग्रेससँग रिसाएका नेता कार्यकर्तालाई पुनः आफ्नै घरमा फर्काउने वातावरण बनाउनुपर्छ : नेता भट्ट

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरुसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका भट्टले सो धारणा राखेका हुन्।

अब स्थानीय र प्रदेशको चुनाव लक्षित तयारीमा पार्टी लाग्नुपर्ने बताउँदै उनले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरुसँग संवाद गरेर पुनः पार्टीमा फिर्ता ल्याउनुपर्ने बताए। ‘अब विस्तारै स्थानीय र प्रदेश चुनाव आउँदैछ, त्यसको तयारीमा हामी जुट्नुपर्छ, चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन। किनकि हिजो विभिन्न कालखण्डमा हामीसँग रिसाएर पार्टी बाहिर बसेका साथीहरुलाई पुनः घर फर्काउने गरी संवाद थाल्नुपर्छ, त्यसबारे म नेतृत्वको ध्यानाकर्षण गराउँदछु,’ नेता भट्टले भने।

यसैगरी नेता भट्टले आगामी स्थानीय र प्रदेशको निर्वाचनमा युवाहरुलाई आरक्षणभन्दा पनि अवसर सिर्जना गर्नुपर्ने बताए। १५औँ महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा आएका नयाँ पुस्ताका नेताहरुलाई केन्द्रित गरेर प्रशिक्षणको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। ‘निर्वाचनमा युवाहरुलाई आरक्षण वा कोटा छुट्टाउने होइन। युवालाई दक्ष बनाउने र आफैँ अवसरको खोजी गर्न सक्ने जनशक्ति पार्टीले निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘अहिले केन्द्रीय समितिमा हामी धेरै नयाँ साथीहरु आएका छौँ। खासगरी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै पार्टी केन्द्रीय समितिमा जोडिएका साथीहरुलाई प्रशिक्षित गरेर थप सशक्त बनाउन जरुरी छ।’

उनले विभिन्न समसामयिक विषयमा पार्टीको केन्द्रीय समिति मार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन्। भोटेकोशी बाढीदेखि बूढीगण्डकी बाढी प्रभावितहरुका लागि सरकारले उचित ढङ्गले काम गर्न नसकेकोमा पार्टीको तर्फबाट सरकारलाई थप घच्घच्याउनका लागि उनले आग्रह गरे।

‘पार्टी सभापतिज्यू भोटेकोशी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ। त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौँ कि जनताले सास्ती भोगिरहेका छन् भन्ने। त्यसो त असोज २५ को बूढीगण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन। पुनर्स्थापनाका काम अघि बढेनन्। सरकारी कोषमा पैसा छ तर पीडितको हातमा राहत रकम पुगेको छैन,’ उनले भने, ‘सभापतिज्यू, पदाधिकारी तथा सदस्य साथीहरु र संसद्मा प्रतिनिधित्व गर्ने साथीहरु हाम्रो ध्यान अब सरकारलाई घच्घच्याउने र बाढी प्रभावित नागरिकहरुको समस्या समाधानका लागि पहल गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।’

यसैगरी काठमाडौँमा नदी किनारबाट हटाइएका सुकुमबासीहरुको उचित व्यवस्थापन हुन नसकेको विषयमा समेत उनले पार्टी मार्फत सरकारको ध्यानाकर्षण गराए। ‘सरकारले हतारो गरी काठमाडौँका सुकुमबासीहरुलाई हटायो तर व्यवस्थापन गर्न भने सरकार पूर्ण रुपमा चुकेको छ। त्यसका लागि केन्द्रीय समितिदेखि संसद् र परिआए सडकमा पुगेर भए पनि सुकुमबासीको समस्या समाधानका लागि सरकारलाई घच्घच्याउनुपर्छ,’ उनले भने।

सुशासनको नारा दिएर आएको सरकार महँगी नियन्त्रण गर्नबाट पूर्ण रुपमा चुकेको र नागरिकको जनजीवन कठिन बन्दै गइरहेको भन्दै सरकारले त्यसतर्फ तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ। साथै, उनले प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट हवाई रुट लगायतका केही विषय सकारात्मक रहे पनि सीमा विवादका विषयमा सरकारको त्रुटि देखिएको टिप्पणी गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा