काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक (साउन–कात्तिक) अवधिमा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् निर्यात गरेको छ। वर्षायाममा देशभित्रको आन्तरिक खपत पूरा गरी बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको हो।
प्राधिकरणका अनुसार पहिलो चार महिनामा भएको विद्युत् निर्यातबाट कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ। यस अवधिमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ। कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट बिजुली निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणको तथ्याङ्क छ।
यस आर्थिक वर्षको साउनमा ५ अर्ब १३ करोड ३९ लाख, भदौमा ५ अर्ब २२ करोड ९२ लाख र असोज महिनामा सर्वाधिक ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। असोजमा बिजुलीको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा कायम भएको थियो।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी बजारका साथै द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यलाई तथा त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशलाई समेत बिजुली बिक्री गर्दै आएको छ। भारतसँगको कारोबार भारतीय रुपैयाँ र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण केही जलविद्युत् आयोजनामा अवरोध पुगे पनि निर्यातलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिए। नेपाल पछिल्ला दुई वर्षयता बिजुलीको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता मुलुक बनेको छ।


