काठमाडौँ । कर्णाली प्रदेशमा ऐतिहासिक रूपमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन समारोह आगामी मङ्सिर १६ गते तोकिए पनि खेलहरूको चापलाई मध्यनजर गर्दै पुरुष फुटबल, महिला क्रिकेट, बास्केटबल, टेनिस र पौडी विधाका प्रतिस्पर्धाहरू आजैबाट सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार समावेश गरिएका ३२ खेलमध्ये २३ वटा मुख्य विधाका प्रतिस्पर्धा सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित कर्णाली प्रदेश रंगशालामा केन्द्रित रहनेछन्। बाँकी खेलहरू भने कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला, पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियाका विभिन्न खेलमैदानहरूमा विभाजन गरी सञ्चालन गरिने तालिका छ।
प्रतियोगितामा देशका सातै प्रदेश, तीन सुरक्षा निकायका विभागीय टोलीहरू (सेना, प्रहरी र सशस्त्र प्रहरी) तथा एनआरएनए गरी ११ टिमका हजारौँ खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतियोगितामा ३ सय ८४ इभेन्ट्समार्फत खेलाडीहरूले १ हजार ३ सय ३७ वटा पदकका लागि आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन्।
यस पटकको राष्ट्रिय खेलकुदमा खेलाडीहरूको हौसला बढाउन स्वर्ण पदकसँगै रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई समेत पहिलोपटक नगद राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। सुर्खेतमा जारी यो बृहत खेल महोत्सव मङ्सिर १६ गते औपचारिक उद्घाटन भई मङ्सिर २७ गते विशेष समापन समारोहका साथ टुङ्गिनेछ।


