काठमाडौँ । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पुनर्बहाली सम्बन्धी रिट निवेदनमाथि आज संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतले कार्कीको मुद्दालाई न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकेर सुनुवाइको प्रक्रिया अघि बढाएको हो।
यसअघि मङ्सिर ७ गते न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तोकिए पनि विपक्षी बनाइएका नवनियुक्त प्रहरी प्रमुख डा. मनोज केसीले अदालतको म्याद बुझेको तामेली प्रतिवेदन नआएपछि सुनुवाइ रोकिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मुद्दा पुनः संयुक्त इजलासमा पुगेको हो।
कार्कीले आफ्नो रिटमा प्रचलित प्रहरी ऐन र नियमावलीको प्रावधान मिचेर गैरकानुनी ढंगले हटाएको दाबी गर्दै आईजीपी पदमा तत्काल पुनर्बहालीको आदेश माग गरेका छन्। साथै नयाँ आईजीपीको नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न र उनलाई पदको कामकारबाही गर्न नदिन अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कार्कीलाई हटाएर डा. मनोज केसीलाई नेपाल प्रहरीको कमान्ड सुम्पिँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। यसअघि सर्वोच्चबाट सरकारका नाममा कारण देखाऊ आदेश जारी भइसकेको सन्दर्भमा आज दुवै पक्षका कानुन व्यवसायीहरूको बहसपछि अन्तरिम आदेशबारे सर्वोच्चले निर्णय लिनेछ।


