आईजीपी पदमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्चमा सुनुवाइ

spot_img

काठमाडौँ । सरकारद्वारा प्रहरी महानिरीक्षक पदबाट हटाइएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज दुई पक्षीय सुनुवाइ हुँदैछ। प्रहरी ऐन र स्थापित विधिविपरीत आफूलाई पदमुक्त गरिएको दाबी गर्दै कार्कीले पदमा पुनर्बहाली र नवनियुक्त आईजीपीको कामकाज रोक्न अन्तरिम आदेशको माग गरेका छन्।

निवेदक कार्कीले कानुनले प्रत्याभूत गरेको सेवा सर्त र सुरक्षालाई लत्याउँदै सरकारले स्वेच्छाचारी ढंगले आफूलाई जिम्मेवारीबाट अलग गराएको आरोप लगाएका छन्। सरकारले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोज केसीलाई नयाँ महानिरीक्षक बनाएको थियो। उक्त निर्णयले प्रहरी संगठनको चेन अफ कमान्ड र विधिको शासनमा आँच पुगेको कार्कीको दाबी छ।

यस मुद्दामा यसअघि नै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा प्रारम्भिक आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो। अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षको बहस सुन्न आज विपक्षी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा प्रहरी मुख्यालयका प्रतिनिधिलाई इजलासमा उपस्थित हुन आदेश दिइएको थियो।

सर्वोच्च अदालतमा आज हुने बहसमा सरकारी पक्षले सरकारको अधिकार क्षेत्रको प्रतिरक्षा गर्नेछ भने कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरूले पैरवी गर्नेछन्। दुवै पक्षको दलिल सुनेपछि अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय सुनाउने भएकाले यस सुनुवाइलाई नेपाल प्रहरी र कानुनी वृत्तमा निकै चासोका साथ हेरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा