काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तथा ओलम्पिक टर्च मुगुस्थित प्रसिद्ध पर्यटकीय स्थल रारा ताल पुर्याइएको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको अनुपम प्राकृतिक सौन्दर्य र पर्यटनसँग जोड्ने उद्देश्यका साथ टर्च टुर रारा लगिएको हो।
दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट प्रज्वलन गरी सुरु गरिएको यो ऐतिहासिक यात्रा कालिकोट र जुम्लाको चन्दननाथ मन्दिर हुँदै समुद्री सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको रारा ताल पुगेको हो। रारामा पहिलो पटक ओलम्पिक टर्च पुर्याइएको हो।
यस यात्रामा कीर्तिमानी धावक हरिबहादुर रोकाया, ओलम्पियन दीपक विष्ट, दीपक श्रेष्ठ, देबु थापा र कराते च्याम्पियन मण्डेकाजी श्रेष्ठलगायतका वरिष्ठ खेलाडीहरू सहभागी छन्। खेलाडीहरूले खेलकुदको राष्ट्रिय अभियानलाई राराजस्तो विश्वप्रसिद्ध स्थलमा पुर्याउन पाउँदा गौरव महसुस भएको बताएका छन्।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा भव्य रूपमा आयोजना हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तयारी गरिएको छ।


