काठमाडौँ । चीनले अन्तरिक्ष अनुसन्धान तथा पृथ्वी अवलोकनलाई थप सशक्त बनाउँदै नयाँ रिमोट सेन्सिङ भू–उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ। चीनको लङ मार्च–२डी रकेटले ‘याओगान–४९ ०१’ नामक भू–उपग्रह समूहलाई अन्तरिक्षमा पुर्याएको हो।
सिचुआन प्रान्तको सिछाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट भएको उक्त सफल प्रक्षेपणपछि भू–उपग्रहहरू सफलतापूर्वक पृथ्वीको तोकिएको कक्षमा प्रवेश गरेको चिनियाँ अन्तरिक्ष निकायले पुष्टि गरेको छ। उपग्रहहरूको सञ्चार प्रणाली सामान्य अवस्थामा सक्रिय भइसकेको जनाइएको छ।
नयाँ भू–उपग्रहहरूलाई मुख्य रूपमा भूमि तथा प्राकृतिक स्रोतहरूको सर्वेक्षण, वैज्ञानिक अनुसन्धान, कृषि उत्पादनको नियमित तथ्याङ्क संकलन तथा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका कार्यमा उपयोग गरिनेछ। यसबाट मौसम तथा भू-सतहको उच्च गुणस्तरीय तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ।
यो सफल प्रक्षेपणसँगै चीनको लङ मार्च रकेट शृङ्खलाले ६८१औँ सफल उडान पूरा गरेको छ। अन्तरिक्ष प्रविधिमा विश्वमै नेतृत्वदायी भूमिका खेलिरहेको चीनले स्याटेलाइट कन्सटिलेसन विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ।


