काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण विषयहरूको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै यस प्रकरणको यथार्थ विवरण जनतासमक्ष ल्याउनुपर्ने बताएका छन्।
नेता आङ्देम्बेले कांग्रेस सभापति गगन थापालगायतका राजनीतिक नेतृत्वलाई जोडेर सत्तापक्षबाटै बनावटी बयानको पटकथा तयार पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्। हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन अनधिकृत रूपमा नियन्त्रणमा लिएर जबर्जस्ती बयान पढ्न लगाउने र अस्वीकार गरे फसाइदिने धम्की दिइएको विषयले कानुनी शासनको उपहास गरेको उनको ठहर छ।
हिरासतमा रहेका सापकोटाले मानवअधिकार आयोगमा दिएको उजुरीले राज्यका अनुसन्धान निकायको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै आङ्देम्बेले राजनीतिक प्रतिशोध साँध्न सरकारी शक्तिको दुरुपयोग नगर्न खबरदारी गरेका छन्।
सरकारले निष्पक्ष छानबिन गर्नुको साटो नियोजित रूपमा षड्यन्त्र बुनिरहेको आशंका व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा राज्यका संयन्त्रहरूको विश्वसनीयता कायम रहनुपर्ने बताएका छन्। उनले संविधान र विधिको शासनको रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिने स्पष्ट पारेका छन्।


