कर्णालीमा हाम्रो उपस्थिति कमजोर भए पनि पहिलो प्राथमिकतामा छ : रवि लामिछाने

spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतको चुनावमा कर्णालीमा सोचेजस्तो चुनावी नतिजा हात पार्न नसके पनि पार्टीको प्राथमिकतामा कर्णाली सधैँ अग्रस्थानमा रहने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा शनिबार पार्टीद्वारा आयोजित बृहत् प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा सभापति लामिछानेले कर्णालीका दूरदराजसम्म पार्टीको आवाज र संगठन समयमै पुर्‍याउन नसक्दा संसदीय निर्वाचनमा कमजोर उपस्थिति हुन पुगेको स्वीकार गरे। तर चुनावी हार-जितले विकास निर्माणलाई प्रभावित पार्न नहुने उनको तर्क थियो। “कर्णालीले सधैँ विकास र परिवर्तन मागेको छ। जनताले हामीलाई भोट दिए पनि नदिए पनि कर्णालीको समृद्धिको यात्रामा रास्वपा पछि हट्ने छैन,” उनले भने।

विकास निर्माणलाई भोटसँग साट्ने राजनीतिक प्रवृत्तिको विरोध गर्दै लामिछानेले रास्वपा कुनै स्वार्थ वा सौदाबाजी लिएर कर्णाली नआएको स्पष्ट पारे। “हाम्रा उम्मेदवार जिताए मात्र बाटो-घाटो र पुल बनाइदिने भन्दै सर्त राख्ने राजनीति हामी गर्दैनौँ। कर्णालीबाट हामीले चुनाव जिते पनि नजिते पनि रास्वपाको नीति कर्णालीको जीवनस्तर सुधार्नमै केन्द्रित हुनेछ,” उनको भनाइ थियो।

राजनीति चुनावका लागि मात्र नभई जनताको जीवन रूपान्तरण गर्ने निरन्तर अभियान भएको बताउँदै उनले कर्णालीका वास्तविक समस्यालाई संघीय संसद् र सरकारको मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रशिक्षण कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाबाट आएका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा