निर्वाचनका लागि ८० हजार सेना परिचालन

काठमाडौँ : नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको जानकारी दिए । सोही योजनाअनुसार सेना परिचालन हुने उनले बताए।

एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन भई राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी बहन गर्नेछ ।

निर्वाचनपूर्व सेनाको मुख्य जिम्मेवारी मतपत्र छपाइको सुरक्षा र महत्त्वपूर्ण संरचनाको संरक्षण हुनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा विमानस्थल, कारागारलगायत संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।

निर्वाचनका सिलसिलामा सेनाले चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सहकार्य गर्दै तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तालिम र अभ्यास गरिने जनाइएको छ ।

मतदानका समयमा नेपाली सेना तेस्रो घेरामा रहनेछ । यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइनेछ ।

विगतमा झैँ आगामी निर्वाचनलाई लक्षित गरी देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारी गरिएको छ। फागुन २१ गते मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणना स्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले लिनेछ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश स्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । गोष्ठीबाट प्राप्त सुझावका आधारमा सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने सेनाले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा