काठमाडौँ । प्रमुख वामपन्थी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको सम्भावित पार्टी एकता आगामी स्थानीय तहको निर्वाचनको परिणामले तय गर्ने भएको छ । २७ वटा साना-ठूला घटकहरूलाई समेटेर बनेको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पनि चुनावी मोर्चाबन्दी हुँदै एकतासम्म पुग्ने आधार तयार भइरहेको बताउनुभएको छ ।
संघीय संसद्को निर्वाचनमा नयाँ दल रास्वपाको भारी जितपछि प्रतिपक्षमा पुगेका एमाले र नेकपाले प्रदेशस्तरमा सहकार्य सुरु गरिसकेका छन् । तर, तत्कालै सांगठनिक एकतामा जानुको सट्टा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने समझदारी दुई शीर्ष नेताबिच भएको छ ।
विगतको तीतो अनुभवबाट पाठ :
नेकपा प्रवक्ता प्रकाश ज्वालाले अहिले नै पार्टी एकताको घोषणा नहुने स्पष्ट पार्दै भन्नुभयो, “तत्काल एमालेसँग एकता हुने सम्भावना छैन । अहिले प्रदेश र स्थानीय तहमा सहकार्य भइरहेको छ । चुनावमा सकारात्मक नतिजा आयो भने एकताको ढोका खुल्नेछ ।”
विगत २०७४ को चुनावी तालमेल र २०७५ को पार्टी एकतापछि उत्पन्न आन्तरिक शक्ति संघर्षले नेकपा विघटन भएको स्मरण गर्दै नेताहरूले यसपटक परिपक्व ढङ्गले अगाडि बढ्ने रणनीति लिएका छन् । एमाले सचिव महेश बस्नेतले पनि राष्ट्रिय हित र लोकतान्त्रिक स्थायित्वका लागि वाम दलहरूबिचको संवाद सकारात्मक भएको धारणा राख्नुभएको छ ।
