मङ्सिर ५ पछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : पुस पहिलो साता जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो औपचारिक बैठक आगामी मङ्सिर ५ गतेपछि बस्ने भएको छ। पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकको मिति र एजेन्डा तय गर्न शीर्ष तहमा आन्तरिक गृहकार्य भइरहेको छ र छिट्टै बैठकको औपचारिक मिति घोषणा गरिनेछ।

यसअघि केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश तहका अधिवेशन हुन बाँकी रहेकाले आगामी केन्द्रीय समिति बैठकको मुख्य ध्यान ती अधिवेशनहरूको कार्यतालिका निर्धारणमा केन्द्रित हुनेछ। पार्टी नेता गगन थापाले छठ पर्वका क्रममा सर्लाही पुगेर पुसको पहिलो साता जिल्ला अधिवेशन र लगत्तै प्रदेश अधिवेशन गर्ने गरी मिति तय गरिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

तल्लो तहका अधिवेशनहरू सम्पन्न नहुँदा स्थानीय स्तरमा सांगठनिक गतिविधिहरू प्रभावित भएको गुनासो आइरहेका बेला पार्टी नेतृत्वले अधिवेशनको प्रक्रियालाई प्राथमिकतामा राखेको हो। महाधिवेशनपछिको सांगठनिक गतिरोध अन्त्य गर्दै पार्टी पंक्तिलाई स्थानीय तहदेखि नै थप सक्रिय र प्रभावकारी बनाउन केन्द्रीय बैठकले महत्वपूर्ण दिशानिर्देश दिने विश्वास गरिएको छ।

बैठकमा अधिवेशनको मितिका अलावा वर्तमान सरकारको कार्यसम्पादन, जनसरोकारका मुद्दाहरू तथा पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशनसम्बन्धी कार्यतालिकाबारे समेत विस्तृत छलफल हुनेछ। पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप एकताबद्ध बनाएर अघि बढाउन मङ्सिर ५ पछिको बैठक निर्णायक हुने नेताहरूको भनाइ छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा