काठमाडौँ । प्रमुख नेपाली चाडपर्व दसैँ, तिहार तथा छठ पर्वका अवसरमा प्रयोग हुने ड्राइ फ्रुट्स (भाइ मसला) आयातमा मुलुकबाट ठूलो परिमाणमा रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) तथ्यांक अनुसार यस अवधिमा २ अर्ब ४४ करोड २ लाख रुपैयाँ बराबरको सुक्खा फलफूल आयात गरिएको छ ।
यमपञ्चक अन्तर्गत भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै मिष्ठान्न कोसेलीका रूपमा भाइ मसला दिने सांस्कृतिक परम्परा छ । यसका लागि काजु, बदाम, किसमिस, ओखर, नरिवल, पेस्ता, छोकडा, मखान लगायतका वस्तुहरूको बजार माग अत्यधिक बढेको छ । स्वदेशी उत्पादनले धान्न नसक्दा अधिकांश वस्तु विभिन्न तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।
कुन वस्तु कति आयात भयो ?
तथ्यांक अनुसार पहिलो तीन महिनामा सबैभन्दा बढी मूल्यको बदाम आयात भएको छ । अमेरिका लगायतका देशबाट ७२ करोड ८४ लाख २९ हजार रुपैयाँ बराबरको ८ लाख ६७ हजार ४५० केजी बदाम भित्रिएको छ । यसबाट सरकारलाई १७ करोड ६१ लाख ७६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
दोस्रो स्थानमा रहेको काजु ६ लाख ८८ हजार ३२४ केजी आयात भएको छ, जसको मूल्य ६८ करोड ३२ लाख ४३ हजार रुपैयाँ छ । काजुबाट राज्यले २० करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । काजु मुख्यतया भारत तथा भियतनामबाट ल्याइने गरिएको छ ।
ओखर र किसमिसको कारोबार :
यस अवधिमा चीन र अमेरिका लगायतका मुलुकबाट ६५ करोड ३९ लाख २४ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार ५३३ केजी ओखर भित्रिएको छ । जसबाट १५ करोड ८९ लाख ९८ हजार रुपैयाँ राजस्व उठेको छ । यस्तै, १० लाख ९८ हजार ६७६ केजी किसमिस ३८ करोड ३१ लाख ५६ हजार रुपैयाँमा आयात भएको छ ।
गत आर्थिक वर्षभरिमा मुलुकले ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँको ड्राइ फ्रुट्स आयात गरेको थियो भने १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको थियो । चालू आर्थिक वर्षमा पनि चाडबाडको मुखमा ड्राइ फ्रुट्सको आयात उच्च दरमा भइरहेको व्यापारीहरू बताउँछन् ।
