कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षको युवा भेला

काठमाडौँ : नेपाली काँग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने भएको छ । विशेष महाधिवेशन उद्घाटन हुने दिन सानेपामा युवा भेला गर्ने निर्णय गरिएको संस्थापन पक्षका एक नेताले बताए ।

सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि २७ पुसमा युवा भेला गर्ने निर्णय भएको ती नेताको भनाइ छ । भेलाको संयोजनको जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।

सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरु बरालले युवा भेलाको आयोजना पुष्टि गरेका छन्। उनले भने, ‘२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने भएका छौँ । २८ गतेको बारेमा तय हुँदैछ।’

संस्थापन निकट स्रोतका अनुसार २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने तयारी छ । उक्त भेलाको समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई दिइएको छ।

सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजङ्ग बस्नेत र गुरु बराललगायतका नेताहरू सहभागी थिए।

यस्तै भ्रातृ संगठनका तर्फबाट नेपाल तरुण दलका अध्यक्ष विधान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा र नेपाल महिला संघकी अध्यक्ष उषा राउत पनि छलफलमा सहभागी थिए।

यसअघि विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा