कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको ३९ रनको सानदार जित, अंक तालिकाको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले प्रस्तुत गरेको १७६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमा समेटियो ।

कर्णालीका लागि विस्फोटक विदेशी खेलाडी डेभिड मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । तर, अर्को छेउबाट अन्य खेलाडीहरूको साथ नपाउँदा उनको एकल प्रयास जितका लागि पर्याप्त हुन सकेन । दीपक डुम्रेले १८ रन बनाए पनि बाँकी शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानहरू सस्तैमा पभेलियन फर्किए ।

बलिङमा सुदूरपश्चिमको सामूहिक प्रयास :
सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट अनुशासन प्रदर्शन गरे । स्कट कुगेलेइनले सर्वाधिक २ विकेट हात पारे भने हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्ननायके र अविनाश बोहोराले १-१ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअपलाई बाँधेर राखे ।

पहिले ब्याटिङ गर्दै १७६ रनको योगफल :
त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले सन्तुलित प्रदर्शन गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । टोलीका लागि सैफ जेबले ३५ रन, विनोद भण्डारीले २७ रन, ब्रान्डन म्याकमलेनले २४ रन, इशान पाण्डेले २३ रन तथा थरिन्दु रत्नायकेले अविजित २२ रन जोडे । कर्णालीका बलर मार्क वाटले २ विकेट झारेका थिए ।

यस जितसँगै सुदूरपश्चिम ५ खेलमा ३ जितसहित ६ अंक बटुलेर तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित कर्णाली याक्स भने पाँचौँ स्थानमा झरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा