काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री तथा प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
बोर्ड बैठकले जेनजी आन्दोलनका शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । ती २७ जनाले रोजगारीका लागि प्राधिकरणमा निवेदन दिएका थिए ।
निवेदकको यकिनपछि पायक पर्ने प्राधिकरणका कार्यालयमा शहीद परिवारका सम्बन्धित सदस्यलाई शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको छ।
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधिअनुसार निवेदनका आधारमा रोजगारी दिने निर्णय गरिएको कुलमान घिसिङले बताएका छन्।
कार्यविधिमा जेनजी आन्दोलनका क्रममा घाइते वा अपाङ्ग भएका व्यक्ति, नजिकका परिवारका सदस्य र शहीद परिवारका सदस्यलाई प्रचलित कानुनअनुसार निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।

