गाजामा इजरायली हवाई आक्रमण : हमासका वरिष्ठ सैन्य कमाण्डर अबु युनिस मारिए

काठमाडौँ । गाजा पट्टीमा इजरायली सेनाले गरेको पछिल्लो हवाई आक्रमणमा हमासका एक जना वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्। हमासको सैन्य विङ अल-कासाम ब्रिगेड्सले आइतबार विज्ञप्ति जारी गर्दै राफाह ब्रिगेडका कमाण्डर ५३ वर्षीय समीर महमुद अबु युनिसको मृत्यु भएको पुष्टि गरेको हो। दक्षिणी गाजाको खान युनिस नजिकै रातको समयमा भएको आक्रमणमा उनी मारिएको बताइएको छ।

अल-कासामका अनुसार सन् १९९१ देखि हमासको लडाकु दस्तामा सक्रिय रहेका अबु युनिस संगठनका संस्थापक पुस्ताका वरिष्ठ रणनीतिकार मानिन्थे। इजरायली जेलमा वर्षौंसम्म बन्दी जीवन बिताएर फर्किएका उनले हमासको सैन्य परिषद्मा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। अक्टोबर ७ मा इजरायलमाथि गरिएको अप्रत्याशित आक्रमणको योजना निर्माण र लडाकु परिचालनमा उनको मुख्य भूमिका रहेको उल्लेख गरिएको छ।

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले पनि गुप्तचर सूचनाका आधारमा गरिएको सटिक हवाई आक्रमणमा अबु युनिस मारिएको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ताका अनुसार युनिसले इजरायलविरुद्ध भूमिगत आक्रमणको समन्वय गर्दै आएका थिए भने राफाह क्षेत्रमा हमासको सैन्य शक्ति पुनः संगठित गर्ने प्रयास गरिरहेका थिए। खान युनिसको अल-मावासी क्षेत्रलाई लक्षित गरी गरिएको यो आक्रमणले हमासको सैन्य क्षमतामा गम्भीर क्षति पुर्‍याएको इजरायलको भनाइ छ।

गाजामा जारी लडाइँ १३ महिनाभन्दा बढी समयदेखि चल्दै गर्दा इजरायली सुरक्षा फौजले हमास र हेजबुल्लाहका शीर्ष कमाण्डरहरूलाई लक्षित गरी कारबाही तीव्र पारेको छ। शीर्ष नेतृत्व एकपछि अर्को गर्दै मारिँदै जाँदा विद्रोही समूहको संगठनात्मक क्षमतामा ठूलो प्रभाव परेको छ भने मध्यपूर्वमा जारी द्वन्द्व तत्काल रोकिने कुनै संकेत देखिएको छैन।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा