काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालका विभागीय मन्त्रीहरूसँग उच्चस्तरीय परामर्श थाल्नुभएको छ । परराष्ट्र सचिव अमृत राईको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका मिस्रीले बुधबार दिनभर सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग द्विपक्षीय सहकार्यका क्षेत्रबारे छलफल गर्नुभएको हो ।
आगामी मंसिरको पहिलो साता प्रधानमन्त्री बालेनले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ । सोही भ्रमणलाई केन्द्रित गरी विदेश सचिव मिस्रीले परराष्ट्र सचिव राईसँग परराष्ट्र मन्त्रालयमा औपचारिक वार्ता गर्दै उच्चस्तरीय भ्रमणको कार्यसूचीबारे गहन परामर्श गर्नुभएको छ ।
व्यापार, सडक, रेल र ऊर्जा सहकार्यमा जोड :
छलफलका क्रममा हवाई रुट, रेल सेवा विस्तार, सडक पूर्वाधार, सीमा नाका स्तरोन्नति, द्विपक्षीय व्यापार सहजीकरण तथा नेपालबाट भारततर्फ ऊर्जा निर्यातको दायरा बढाउने विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबिच, विदेश सचिव मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग बेग्लाबेग्लै भेट गरी सम्बन्धित क्षेत्रका विकास साझेदारी र संयुक्त परियोजनाहरूबारे छलफल गर्नुभयो । उहाँले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष भेटवार्ता गरी भारत भ्रमणको कार्यतालिका र एजेन्डाबारे औपचारिक परामर्श गर्नुहुनेछ ।
