काठमाडौँ । प्रकृति र सूर्यदेवको उपासनाको महान् पर्व छठअन्तर्गत आज आइतबार साँझ उपराष्ट्रपति रामसहायप्रसाद यादवले ललितपुरको कुपोन्डोल र सानेपा राजतीर्थस्थित छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। बागमती नदी किनारमा तयार पारिएका आकर्षक पूजास्थलमा पुगेर उनले विधिपूर्वक पूजा-आराधना गर्दै सम्पूर्ण देशवासीको कल्याणको कामना गरेका हुन्।
सानेपास्थित राम मन्दिर राजतीर्थ फुटबल मैदान अगाडि सजिएको छठ घाटमा आइपुग्दा उपराष्ट्रपति यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेता तथा आयोजक परिवारले विशेष स्वागत गरेको थियो। उपराष्ट्रपति यादवले जलाशयमा प्रवेश गरी फलफूल, ठेकुवा र प्रसादसहित अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए। धार्मिक विधि सम्पन्न गर्दै उनले नेपालका विविध जातजाति र समुदायबिच मौलिक सांस्कृतिक पर्वहरूले एकताको कडीका रूपमा काम गर्ने उल्लेख गरे।
आइतबार साँझ काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, नख्खु खोला, कमलपोखरी, गुह्येश्वरी, गौरीघाट तथा देशैभरका नदी र पोखरी किनारहरूमा हजारौँ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। छठी माताको भक्तिभावमा लीन व्रतालुहरूले ३६ घण्टे कठोर निर्जला व्रत बस्दै परिवारको आरोग्य, सन्तानको दीर्घायु र समाजको उन्नतिको प्रार्थना गरेका छन्।
कार्तिक शुक्ल सप्तमी अर्थात् भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि चार दिन लामो छठ अनुष्ठानको विधिवत् समापन हुनेछ। अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने अनुपम पर्वका रूपमा रहेको छठले सामाजिक सद्भाव, भ्रातृत्व र प्रकृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

