काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज शनिबार शीर्ष टोली लुम्बिनी लायन्स र प्लेअफ दौडमा रहेको विराटनगर किंग्सबिच रोचक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा दुवै टोली स्पष्ट दुई अंक जोड्ने लक्ष्यसहित आमनेसामने हुँदैछन्। प्लेअफमा पुगिसकेको लुम्बिनी शीर्ष दुईमा स्थान पक्का गर्न चाहन्छ भने विराटनगरका लागि यो खेल ‘गर वा मर’ सरह बनेको छ।
लुम्बिनी लायन्सले यस संस्करणमा ६ खेलबाट ४ जित र १ रद्दसहित ९ अंक बटुलेर तालिकाको पहिलो स्थान ओगटेको छ। लुम्बिनीको ब्याटिङमा डि’आर्सी सर्ट, कप्तान रोहित पौडेल र विकेटकिपर निरोजन डिकवेलाले जिम्मेवार इनिङ खेलिरहेका छन् भने बलिङतर्फ शेर मल्ल (९ विकेट), रुबेन ट्रम्पलम्यान र किशोर महतोले विपक्षी ब्याटरहरूलाई कडा चुनौती दिइरहेका छन्। टिमको सन्तुलित प्रदर्शन र उच्च नेट रनरेटका कारण लुम्बिनी आज मनोवैज्ञानिक रूपमा केही अगाडि देखिएको छ।
यता विराटनगर किंग्स भने ६ खेलबाट समान ३ जित र ३ हार बेहोर्दै ६ अंकमा सीमित छ। शनिबारको खेल जितेमा विराटनगरले आफ्नो खातामा ८ अंक पुर्याउँदै प्लेअफको सम्भावना लगभग पक्का गर्नेछ। पछिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ऐतिहासिक ह्याट्रिकसहित ६ विकेट लिएर टोलीलाई जिताएका कप्तान सन्दीप लामिछाने आज लुम्बिनीका लागि ठूलो परीक्षा बन्नेछन्। साथै लयमा रहेका ब्याटर लोकेश बम (२२७ रन) र विष्फोटक अलराउन्डर आन्द्रे रसेलको प्रदर्शन खेलको नतिजा निर्धारण गर्न निर्णायक हुनेछ।
आपसी प्रतिस्पर्धाको हेड टु हेड इतिहासमा लुम्बिनीले विराटनगरविरुद्ध स्पष्ट अग्रता बनाएको छ। एनपीएलका अघिल्ला तीन भेटमध्ये लुम्बिनीले दुई खेलमा जित निकालेको छ भने विराटनगरले एक खेल मात्र जितेको छ। पछिल्लो समय त्रिवि मैदानमा ब्याटिङ सहज नदेखिएको अवस्थामा धैर्यपूर्वक क्रिजमा टिक्ने र बीचका ओभरमा रणनीतिक साझेदारी बनाउने टोलीले बाजी मार्ने सम्भावना देखिन्छ।

