काठमाण्डौँ : ट्राभिस हेड र कप्तान स्टिभ स्मिथको शतकको मद्दतमा एशेज टेस्ट शृङ्खलाको पाँचौँ तथा अन्तिम टेस्टमा घरेलु टोली अस्ट्रेलियाले १ सय ३४ रनको अग्रता लिएको छ।
सिड्नीमा तेस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले पहिलो पारीमा ७ विकेट गुमाएर ५ सय १८ रन बनाएको छ। ट्राभिस हेडले १ सय ६३ रन बनाएर आउट भए भने कप्तान स्टिभ स्मिथ १ सय २९ रनमा नटआउट छन्। इङ्ग्ल्यान्डतर्फ ब्राइडन कार्सले ३ विकेट लिए।
यससँगै ३६ वर्षीय स्मिथ एशेज शृङ्खलामा धेरै रन र धेरै शतक बनाउने दोस्रो खेलाडी बनेका छन्। उनले एशेजमा ३ हजार ६ सय ८२ रन र १३ वटा शतक पूरा गरेका छन्। एशेजमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भने अस्ट्रेलियाकै महान् ब्याट्सम्यान डन ब्राडम्यान हुन्, जसले ५ हजार २८ रन र १९ वटा शतक बनाएका छन्।
यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा ३ सय ८४ रन बनाएको थियो। इङ्ग्ल्यान्डका जो रुटले १ सय ६० रनको योगदान दिए। अस्ट्रेलियातर्फ माइकल नेसरले ४ विकेट लिए।
एशेज शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ। अस्ट्रेलियाले पहिलो, दोस्रो र तेस्रो टेस्ट जितेको थियो भने चौथो टेस्ट इङ्ग्ल्यान्डले जितेको थियो।

