काठमाडौँ : शेयर बजार लगातार दोस्रो दिन उकालो लागेको छ। शेयर बजार परिसूचक नेप्से मंगलबार ९ दशमलव ९३ अङ्कले बढेर २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको छ।
आज होटल र उत्पादन समूह बाहेक सबै समूहको शेयर मूल्य बढेको छ। तीमध्ये फाइनान्स समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १ सय ४८ वटा कम्पनीको शेयर बढ्दा १ सय ३ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज जीवन विकास लघुवित्त कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ। समग्र बजार बढेको दिन रुरु जलविद्युत् परियोजना कम्पनीको शेयर भने सबैभन्दा धेरै ८ दशमलव ४१ प्रतिशतले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। हिजो ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन्।

