स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भएर लाग्नुपर्छ : प्रदीप पौडेल

spot_img

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी स्थानीय तहको निर्वाचन जित्नका लागि सम्पूर्ण पार्टी पङ्क्ति एकढिक्का भएर जनताको माझमा जानुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ द्वारा आयोजित ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री पौडेलले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र जनचाहना अनुसारको विकासका लागि कांग्रेस बलियो र एकताबद्ध हुनुको विकल्प नभएको उल्लेख गरे। वडा र क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेकाले अब जिल्ला र प्रदेश अधिवेशनलाई पनि शीघ्र पूर्णता दिने तयारी भइरहेको उनले स्पष्ट पारे।

पार्टीको १५औँ महाधिवेशनमा पराजित भएका उम्मेदवारहरूलाई विचलित नभई संगठन निर्माण र जनताको सेवामा थप सक्रिय हुन आग्रह गर्दै उनले भने, “विजयी भएका साथीहरूले पराजित साथीहरूलाई साथमा लिएर अघि बढ्नुपर्छ। कांग्रेस सधैँ जनताको सुख-दुःखको साथी बन्नुपर्छ।”

कांग्रेस पद र सत्ताको लोभमा शासन गर्न नभई निष्ठापूर्वक जनताको सेवा गर्न स्थापना भएको पार्टी भएको बताउँदै उनले बहुदलीय संसदीय व्यवस्थाको जग कांग्रेसले नै निर्माण गरेको स्मरण गरे। हिजो संसदीय व्यवस्थाको विरोध गर्ने राजनीतिक शक्तिहरू समेत आज यही संवैधानिक बाटोमा आइपुगेको उनको भनाइ थियो।

स्थानीय तहका प्रतिनिधि तथा कार्यकर्तालाई सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र अन्यायमा परेका नागरिकको आवाज बन्न उनले आह्वान गरे। कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ बाट केन्द्रीय समितिमा निर्वाचित नेताहरू तथा विभिन्न स्थानीय तहका पदाधिकारीहरूलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा