काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको अनधिकृत प्रयोग तथा दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।
१५औँ महाधिवेशनपछि निर्वाचन आयोगमा कांग्रेसको नयाँ कार्यसमिति र विवरण विधिवत् अद्यावधिक भइसकेकाले अन्य कसैलाई पनि पार्टीको नाम, चुनाव चिह्न र झण्डा दुरुपयोग गर्न नदिन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको सहमहामन्त्री अजयबाबु शिवाकोटीले बताए। बैठकले पार्टीको पहिचान र झण्डा दुरुपयोग नगर्न पार्टीभित्रको असन्तुष्ट पक्षलाई समेत सचेत गराएको छ।
सहमहामन्त्री शिवाकोटीका अनुसार सरकारले अध्यादेशका भरमा देश चलाउन खोजेको तथा संविधान र लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरिरहेको समीक्षा बैठकले गरेको छ। यसैगरी पासपोर्ट वितरण तथा सुनकोसी–मरिन डाइभर्सनजस्ता राष्ट्रिय सरोकारका विषयमा राज्य संयन्त्रको दुरुपयोग गरी आर्थिक चलखेल गरिएको विषयमा पनि बैठकमा गम्भीर छलफल भएको छ।
बैठकले आसन्न स्थानीय निर्वाचनको तयारीका लागि देशभरका सबै पालिकाहरूमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ। साथै आवासको उचित विकल्पविना सुकुमबासीहरूलाई होल्डिङ सेन्टरबाट समेत लखेट्ने सरकारी कदम अमानवीय रहेको भन्दै कांग्रेसले विरोध जनाएको छ। बैठकका विस्तृत निर्णयहरू शनिबार सानेपामा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।


