स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक परिचालन, प्रदेश अस्पतालहरूमा ५११ जना

spot_img

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च शिक्षा उत्तीर्ण गरेका ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशका स्वास्थ्य संस्थाहरूमा खटाएको छ। एमडी, एमएस तथा एमडिएस अध्ययन पूरा गरेका विशेषज्ञ चिकित्सकहरूलाई दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकसम्म विशेषज्ञ उपचार सेवा पुर्‍याउने रणनीतिका साथ पदस्थापन गरिएको हो। नयाँ व्यवस्था लागू भएसँगै जटिल रोग र शल्यक्रियाका लागि केन्द्र धाउनुपर्ने नागरिकको सास्तीमा कमी आउने देखिएको छ।

विवरण अनुसार बागमती प्रदेशमा २०८ र कोशी प्रदेशमा १५४ जना चिकित्सक पठाइएको छ भने लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्। यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिम प्रदेशमा ७६ तथा कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको छ। दुर्गम र जनशक्ति अभाव झेलिरहेका प्रदेशहरूमा विशेषज्ञ चिकित्सक पुग्दा त्यहाँको आधारभूत स्वास्थ्य संरचनाले नयाँ गति लिने मन्त्रालयको विश्वास छ।

कुल परिचालित जनशक्तिमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइएको छ भने ३२७ जना चिकित्सकलाई सङ्घीय अस्पताल तथा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा खटाइएको छ। प्रदेशमा खटिएका चिकित्सकहरूलाई प्रादेशिक तथा स्थानीय अस्पतालहरूमा आवश्यकताको पहिचान गरी खटाउने सम्पूर्ण अधिकार प्रदेश सरकारलाई नै प्रदान गरिएको छ।

यस जनशक्ति व्यवस्थापनले स्त्री तथा प्रसूति, हाडजोर्नी, बाल रोग, जनरल सर्जरी, एनेस्थेसिया र आकस्मिक चिकित्सा सेवालाई स्थानीय स्तरमै प्रभावकारी बनाउनेछ। शल्यक्रिया तथा आपत्कालीन उपचार सेवा स्थानीय तहमै उपलब्ध हुँदा गरिब तथा विपन्न नागरिकले समयमै भरपर्दो उपचार पाउने वातावरण बनेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा