काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन (देउवा) पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र पार्दै पाँच वटा महत्त्वपूर्ण उपसमितिका संयोजकहरूको मनोनयन टुंगो लगाएको छ। महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार विभिन्न विधागत उपसमितिहरूको संयोजक चयन गरिएको हो।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाश शरण महत चयन भएका छन्। त्यस्तै, महाधिवेशनमा सहभागी हुने विशिष्ट पाहुनाहरूको स्वागत तथा समन्वयका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी केन्द्रीय सदस्य एन.पी. साउदलाई दिइएको छ।
यसैगरी, महाधिवेशन स्थलको आन्तरिक सुरक्षा, प्रशासन र स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन्। सांस्कृतिक झाँकी तथा प्रस्तुति संयोजन गर्न सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई मनोनयन गरिएको छ।
संस्थापन पक्षले मंसिर २१ देखि २३ गतेसम्म तय भएको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन आवश्यक सबै तयारी समयमै सम्पन्न गर्ने जनाएको छ। मनोनीत संयोजकहरूले आ-आफ्नो उपसमिति विस्तार गरी महाधिवेशनका कार्यभार तत्काल सम्हाल्ने जानकारी दिइएको छ।


