काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा मातहतको राज्य व्यवस्था तथा सुशासन समितिले गृह सचिव केदारनाथ शर्मालाई छलफलका लागि बोलाएको छ। देशको वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण र कारागार सुधारसम्बन्धी विषयमा छलफल गर्न समितिले गृह सचिवलाई आगामी साता उपस्थित हुन पत्राचार गरेको हो।
समिति सचिव विशाल सापकोटाका अनुसार आगामी मंगलबार बिहान ११ः०० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक आह्वान गरिएको छ। बैठकको मुख्य कार्यसूचीमा गृह मन्त्रालयको कार्यसम्पादन, नागरिक सुरक्षाको अवस्था तथा देशभरका कारागारहरूको क्षमता र व्यवस्थापनसम्बन्धी समस्याहरू रहेका छन्।
कारागारहरूमा कैदीबन्दीको चाप अत्यधिक बढ्दै गएको र आधारभूत सेवा सुविधाको अभाव देखिएको विषयमा संसदीय समितिले विशेष चासो राखेको छ। बैठकमा गृह सचिव शर्माले शान्ति सुरक्षा कायम राख्न गरिएका प्रयास र कारागार व्यवस्थापनमा देखिएका चुनौतीबारे समितिमा प्रस्तुतीकरण गर्नेछन्।
छलफलपश्चात् समितिले कारागारहरूको भौतिक पूर्वाधार सुधार, सुरक्षा मापदण्ड कार्यान्वयन तथा प्रभावकारी अपराध नियन्त्रणका लागि सरकारलाई आवश्यक निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ।


