काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारीले प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट आगामी एक हप्ताभित्र कार्यान्वयनमा जाने बताएका छन्। उनले प्रदेशसभाबाट विधिवत् पारित भइसकेको बजेटको सट्टा पूरक बजेट ल्याउने कुनै सम्भावना नरहेको ठोकुवा गरेका छन्।
चालु आर्थिक वर्षको तीन महिनाभन्दा बढी समय व्यतीत भइसक्दा समेत बजेट कार्यान्वयनमा देखिएको ढिलाइले सर्वसाधारण र विकास आयोजनाहरू प्रभावित बनिरहेका छन्। मन्त्री भण्डारीले बजेट पास भएर रातो किताबसमेत आइसकेकाले अब पूरक बजेटको कानुनी आवश्यकता र औचित्य नरहेको उल्लेख गर्दै कार्यान्वयनमा ढिलाइ नगर्न सरकार प्रतिबद्ध रहेको जनाए।
उनका अनुसार बजेटका मूल प्राथमिकता र कार्यक्रमहरू यथावत् रहनेछन् भने केही त्रुटीपूर्ण तथा दोहोरिएका साना योजनाहरूलाई मात्र मन्त्रिपरिषद्मार्फत आवश्यक परिमार्जन गरिनेछ। अबको पाँचदेखि सात दिनभित्र सम्पूर्ण प्रशासनिक तथा वित्तीय प्रक्रिया पूरा गरी योजना कार्यान्वयनको अख्तियारी पठाइने उनले जानकारी दिए।
यसअघि सत्तारूढ दलहरूबीचको आन्तरिक विवाद र पूरक बजेटको चर्चाले प्रदेशको आर्थिक तथा विकास गतिविधि अन्योलमा परेको थियो। मन्त्री भण्डारीले अब सरकार पूर्ण रूपमा विकास निर्माण र जनसरोकारका योजना अगाडि बढाउन केन्द्रित रहने विश्वास दिलाएका छन्।


