काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र शून्य सहनशीलताको नीति अपनाउन अपिल गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान आजदेखि सुरु भएको सन्दर्भमा विशेष सन्देश दिँदै उनले दण्डहीनताको अन्त्य गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन सबै तहका सरकार र सरोकारवालाहरू क्रियाशील हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले हिंसा रोकथाम, पीडितको सुरक्षा र दोषीमाथि कडा कानुनी कारबाही नै विधिको शासनको पहिलो सर्त भएको उल्लेख गरेका छन्। समाजमा विद्यमान परम्परागत कुरीति तथा विभेदका अतिरिक्त वर्तमान समयमा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने हिंसाको रोकथामका लागि प्रविधिमैत्री अनुसन्धान र जनचेतना अभिवृद्धि अपरिहार्य भइसकेको उनको भनाइ छ।
महिला सशक्तीकरण, शिक्षाको विकास तथा संस्थागत जवाफदेहितालाई सरकारले मूल मन्त्र बनाएको चर्चा गर्दै प्रधानमन्त्रीले तीनै तहका सरकारबिच आपसी समन्वय आवश्यक रहेको बताएका छन्। विपद् र सङ्कटका घडीमा महिला तथा बालबालिकाहरू हिंसाको उच्च जोखिममा पर्ने यथार्थलाई दृष्टिगत गर्दै राज्यका सुरक्षा र उद्धार संयन्त्रलाई संवेदनशील बनाइएको उनले जानकारी दिएका छन्।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस १६ दिने अभियानमा नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा आम नागरिकलाई सक्रियतापूर्वक सहभागी हुन प्रधानमन्त्रीले आह्वान गरेका छन्। उनले अभियानले लैङ्गिक विभेदरहित, मर्यादित र सुरक्षित समाज निर्माणको दिशामा सार्थक परिणाम दिने अपेक्षासहित अभियानको सफलताको शुभकामना व्यक्त गरेका छन्।


