राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित राप्रपाको बल्खुमा प्रदर्शन, सुरक्षा कडा

काठमाडौं, चैत २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको जनप्रदर्शन र आमसभालाई लक्षित गर्दै सरकारले कडा सुरक्षा व्यवस्था अपनाएको छ।

राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित राप्रपाले आयोजना गरेको विरोध सभामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै करिब सात हजार सुरक्षाकर्मी खटाइएको छ। जसमध्ये पाँच हजार नेपाल प्रहरी र १,५०० सशस्त्र प्रहरी बल तैनाथ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सभास्थल बल्खुतर्फ जाने कार्यकर्ताहरूका लागि कालीमाटी, सानेपा, कलंकी लगायत स्थानबाट नाराजुलुसको व्यवस्था गरिएको छ। सो क्षेत्रका सवारीसाधनलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिएको छ।

प्रहरीले आसपासका सपिङ मल, सरकारी कार्यालय तथा ठूला भवन क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्दै दुर्घटना रोक्न कदम चालेको छ।

राप्रपाले प्रारम्भमा नारायणहिटी दरबार बाहिर सभा गर्न अनुमति मागेको थियो, तर प्रशासनले अनुमति नदिएपछि अन्ततः बल्खुमा सभा गर्न लागिएको हो। सभा शान्तिपूर्ण र भद्र रूपमा सम्पन्न हुने राप्रपाको दाबी छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कुनै पनि घुसपैठ रोक्दै शान्तिपूर्ण तरिकाले कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा