नवलपरासीको कावासोतीमा धनगढी-काठमाडौँ रुटको बस दुर्घटना, २५ जना यात्रु घाइते

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती नगरपालिका-११ लोकाहामा सोमबार बिहान भएको बस दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र. ०१-००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस सडकमा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान करिब ६ बजेर ४० मिनेटको समयमा बस अचानक अनियन्त्रित भएर सडकमा बजारिन पुगेको थियो। दुर्घटनामा परेर बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन्। दुर्घटना हुनासाथ नजिकै रहेका स्थानीय बासिन्दा तथा प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुहरूको उद्धारमा जुटेका थिए।

उद्धार गरिएका सम्पूर्ण घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। अस्पताल प्रशासनका अनुसार अधिकांश यात्रुहरूको हातखुट्टा र शरीरमा चोटपटक लागेको भए पनि कसैको पनि अवस्था गम्भीर नरहेको बताइएको छ। घाइतेहरूको उपचार जारी छ।

दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाएर अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गको यातायात दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। चालकले सवारीको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाको यथार्थ विवरणबारे प्रहरीले अनुसन्धान थालेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा