पृथ्वीनारायण शाहका उपदेश आज पनि सान्दर्भिक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन अर्पण गरेकी हुन् । भण्डारीले साना–साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपालको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन् । नागरिकको सल्लाह र सुझावलाई समेटेर एकीकरण प्रक्रियालाई जन आधारित राष्ट्रिय अभियान बनाइएको उनको भनाइ छ। पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र पुर्खाहरूको त्यागकै कारण नेपालको स्वतन्त्र अस्तित्व सुरक्षित रहेको उनले बताएकी छन् ।

ऐतिहासिक एकीकरणकै आधारमा आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएको भन्दै उनले पुर्खाप्रति कृतज्ञ रहनुपर्नेमा जोड दिएकी छन्। इतिहासका सकारात्मक शिक्षाबाट वर्तमान पुस्ताले मार्गदर्शन लिनु सभ्य समाजको पहिचान भएको उनको धारणा छ ।

पूर्वराष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र निर्माणका साथै सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेकी छन् ।

उनले राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना सुदृढ गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेकी छन्। साथै, यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा