कांग्रेस केन्द्रीय समिति ३०१ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौँ : आइतबार भृकुटीमण्डपमा सुरु हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी सुधार र विधान संशोधनसम्बन्धी नीतिगत निर्णयको तयारी गरेको छ ।

विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टी संरचना सुदृढीकरण र विधान संशोधन रहेको छ। महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेका प्रस्तावलाई नीति र विधानको रूप दिने तयारी गरिएको छ ।

प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिको आकार बढाएर ३०१ सदस्यीय बनाइनेछ। यसमा ७७ जिल्लाबाट ७७ प्रतिनिधि रहनेछन् । २६५ सदस्य प्रत्यक्ष निर्वाचित र ३६ सदस्य समावेशी तथा समानुपातिक आधारमा सभापतिबाट मनोनीत गरिने प्रस्ताव छ। हाल केन्द्रीय कार्यसमिति १६८ सदस्यीय छ।

केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका युवालाई २० प्रतिशत र पेसागत क्षेत्रलाई १५ प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने नीति पनि समेटिनेछ ।

केन्द्रमा ४० वर्षमुनिका युवाबाट एक र पेसागत क्षेत्रबाट एक गरी दुई सहमहामन्त्री थप गर्ने प्रस्ताव छ। प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप गरिनेछ।

पदाधिकारीका लागि कार्यकाल सीमा तोक्ने प्रस्ताव गरिएको छ। यसअनुसार राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्था पार्टी नीतिमा समेटिनेछ।

समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका वा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था पनि विधानमा राखिने तयारी छ।

महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका दुई युवा प्रतिनिधि रहने प्रस्ताव छ। तीमध्ये एक महिला र एक पुरुष हुनेछन्। पेसागत क्षेत्रबाट पनि एक प्रतिनिधि रहने व्यवस्था गरिनेछ।

संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय गर्न समिति बनाउने प्रस्ताव छ। त्यस्तो समितिको संयोजक सम्बन्धित तहका पार्टी सभापति हुनेछन्।

क्रियाशील सदस्यता वडा स्तरमै टुङ्ग्याउने र महाधिवेशन प्रतिनिधि पनि वडाबाटै चयन गर्ने व्यवस्था गरिनेछ। विज्ञ तथा पेसागत क्षेत्रका व्यक्तिलाई पार्टीमा सिधै प्रवेशको अवसर दिने प्रस्ताव पनि समावेश छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा