काम नगर्ने ठेक्का स्वीकार्य छैन: मन्त्री घिसिङ

काठमाडौँ : ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बुधबार सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

निर्माणाधीन आयोजनालाई गति दिन पहल र समन्वय गरिएको मन्त्री घिसिङले बताए। पत्रकार सम्मेलनमा उनले भने, ‘विकास भाषणले होइन, परिणामले देखिनुपर्छ भन्ने दृष्टिकोणका आधारमा निर्माणाधीन आयोजनालाई गति दिन आवश्यक पहल र समन्वय गरिएको छ। योजना छन्, बजेट छ, ठेक्का पनि लागेको छ– तर काम हुँदैन। एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन।’

उनका अनुसार रणनीतिक महत्वका पुल नबन्दा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनले भने, ‘रणनीतिक महत्वका पुल निर्माण नहुँदा पाँच मिनेटमा पुगिने दूरी डेढ घण्टाको जोखिमपूर्ण यात्रा गर्न नागरिक बाध्य छन्। यस अवस्थाको मूल कारण जिम्मेवारीबाट पन्छिने प्रवृत्ति, अनावश्यक दबाब एवम् हस्तक्षेप र कानुन कार्यान्वयनमा आवश्यक कठोरता नहुनु हो भन्ने निष्कर्षमा पुगेको छु।’

मन्त्री घिसिङका अनुसार वर्षौँदेखि आयोजना लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।

‘१४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलसहित सडक विभागअन्तर्गतका करिब तीन अर्ब रुपैयाँका ४० वटा रुग्ण ठेक्का तोडिएका छन्,’ उनले भने।

उनका अनुसार जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत १४ अर्ब २२ करोड रुपैयाँ बराबरका २२ वटा र शहरी विकास मन्त्रालयअन्तर्गत ४ वटा रुग्ण ठेक्का पनि तोडिएका छन्। अन्य करिब डेढ सय ठेक्का तोड्ने प्रक्रियामा छन् ।

ठेक्का तोडिएका आयोजनालाई पुनः अलपत्र नपार्ने निर्णयसहित नयाँ ठेक्काको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए। १२०० मेगावाट क्षमताको बुढी गण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न लगानी ढाँचा तय गरी अर्थ मन्त्रालय पठाइएको छ।

त्यस्तै, १०६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत आयोजना पनि स्वदेशी लगानीमा निर्माण गर्न वित्तीय ढाँचा तयार गरी अर्थ मन्त्रालय पठाइएको उनले बताए।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गर्ने उद्योगबाट उठ्नुपर्ने प्रिमियम महसुल विगतमा नउठेको उल्लेख गर्दै उनले अब त्यो अभ्यास अन्त्य भएको बताए। स्पष्ट निर्देशनपछि उद्योगहरूले बक्यौता महसुल तिर्न सुरु गरेको उनको भनाइ छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा