काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले भोगेको धक्का कुनै सामान्य चुनावी पराजय नभएर सुनियोजित षड्यन्त्रको उपज भएको बताएका छन्। काठमाडौँको बबरमहलमा जारी एमाले राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तत्कालीन सरकारबाट अपदस्थ गराउन रचिएको प्रपञ्च नै पार्टीविरुद्धको मुख्य प्रहार भएको दाबी गरे।
अध्यक्ष ओलीले एमालेलाई जनताबाट अलग्याउन सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरेर योजनाबद्ध घृणा फैलाइएको र राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोप लगाए। ‘हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण नबुझी राजनीतिक यथार्थ बुझ्न सकिँदैन,’ उनले भने, ‘अल्गोरिदम लगाएर र राज्य संयन्त्र परिचालन गरेर एमालेलाई निर्वाचनमा पछि पार्ने काम भयो।’
पछिल्लो समय राजनीतिमा देखिएका नयाँ प्रवृत्तिहरूलाई ‘बर्खे छिचिमिरा’ को संज्ञा दिँदै ओलीले तिनीहरूको आयु छोटो हुने ठोकुवा गरे। यस्ता मौसमी प्रवृत्तिहरू आफैँ भुइँमा झरेर समाप्त हुने भएकाले कार्यकर्ताहरू निराश हुनु नपर्ने भन्दै उनले एमाले जस्तो इतिहास र बलिदान बोकेको शक्तिले दृढतापूर्वक मैदानमा उभिएर नेतृत्व लिनुपर्ने बताए।
देशलाई वर्तमान निराशा र राजनीतिक अस्थिरताबाट मुक्त गर्न एमाले नै एक मात्र विकल्प रहेको दाबी गर्दै उनले कार्यकर्तालाई जनताको सुखदुःखमा एकाकार हुन आग्रह गरे। पार्टीका १५ वटा मुख्य कार्यभारहरूलाई आत्मसात गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने संकल्पसहित खटिन उनले सबैलाई आह्वान गरे।

