काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो पार्टी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने आधिकारिक निर्णय गरिसकेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा बोल्दै यादवले भने, ‘नेपाली कांग्रेस केन्द्रीय समितिबाट निर्णय गरेर निर्वाचनमा सहभागी हुने तय गरिसकेको छ।’ उनले निर्वाचनबिना देशले निकास नपाउने कांग्रेसको धारणा दोहोर्याए ।
यादवले सरकारलाई कुनै तलमाथि नगरीकन फागुन २१ मा चुनाव सञ्चालन गर्न आग्रह पनि गरेका छन् । उनले भने, पार्टीले आन्तरिक रूपमा उम्मेदवार छनोट र अन्य तयारी धेरै हदसम्म अगाडि बढाइसकेको छ ।
सुरक्षा र स्थान हदसम्बन्धी चुनौतीको चर्चा गर्दै यादवले भयमुक्त मतदानको वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले सबैको ध्यान निर्वाचनमै रहनु आवश्यक रहेको उल्लेख गरे ।
विदेशमा रहेका नेपालीलाई मताधिकार, अन्तर निर्वाचन जिल्ला मतदान र नो भोटबारे कांग्रेस असहमत नभए पनि, फागुन २१ मा लागू गर्न सम्भव कम रहेको उनले बताए ।

