कुलमानलाई बालेनले भने : अघि बढ्नू, साथ दिन्छु

काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहसँग आइतबार सँगै बसेको फोटो सामाजिक सञ्जालमा राखेर लेखे, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ ।’

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ‘उज्यालो नेपाल’ पार्टी दर्ता गरेका कुलमानलाई बालेनले साथ दिँदैछन् भन्ने सन्देश दिन कुलमानले यो तस्बिर सार्वजनिक गरेका थिए ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको लागि सम्वादमा रहेका कुलमान रास्वपासँग एकता गर्न सफल नभएपछि बालेनको साथ लिएर अघि बढ्दैछन् । बालेनले भने दल पनि नबनाउने र निर्वाचनमा समेत नउठ्ने स्पष्ट पारिसकेका छन् ।

घिसिङले शनिबार बेलुकी बालेन्द्रको निवास तीनकुने पुगेर उनीसँग छलफल गरेका थिए। कुलमानको निकट रहेर उनेपा गठनमा सक्रिय रहेका गणेश घिसिङले दुईजनाबीच मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको बताए ।

फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ताको समय आइतबार (मंसिर १४) सम्म थियो । कुलमानले अन्तिमसम्म रास्वपासँग एउटै पार्टी र एकै निर्वाचन चिह्नमा चुनाव लड्ने प्रयासमा थिए ।

तर, आइतबार साँझसम्म रास्वपासँग कुरा अघि नबढेपछि कुलमानले बालेनसँगको तस्बिर सार्वजनिक गरेका थिए ।

बालेनसँग पटक पटक भेटवार्ता गरेका कुलमानले मिलेर जाने विषयमा सहमति भएको दाबी गरेका छन् । स्रोतका अनुसार बालेनले कुलमानलाई अघि बढ्नुस् साथ दिन्छु भनेका छन् ।

कुलमान निकट गणेश भन्छन्, ‘बालेनसँग कुलमानले फाइनल गरिसक्नुभयो । सँगै मिलेर जाने निश्चित भयो ।’

कुलमानले यही मंसिर १७ गते पार्टीको घोषणा सभा राखेका छन् । निर्वाचनअघि एउटै पार्टी बनाउने प्रयास असफल भएपनि उनले रास्वपासँग सम्वाद जारी राख्ने भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा