एनभिडिया मालिक र उनकी ‘प्रेमिका’ जोडिएको जासुसी प्रकरण : चिनियाँ एआई कम्पनीमा छटपटी, प्रतिबन्ध कडा हुने त्रास

काठमाडौँ । अमेरिकी चिप जाइन्ट ‘एनभिडिया’का मालिक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र उनकी प्रेमिका जोडिएको जासुसी विवादले विश्व प्रविधि बजार तरङ्गित बनेको छ । हुआङसँग व्यक्तिगत सम्बन्धमा रहेकी महिला चिनियाँ गुप्तचर संयन्त्रसँग जोडिएको आशंका सार्वजनिक भएपछि अमेरिकाले चीनविरुद्ध अत्याधुनिक सेमिकन्डक्टर प्रतिबन्धमा थप कडाइ गर्ने संकेत गरेको छ ।

यसअघि जेन्सेन हुआङले व्यक्तिगत जीवनमा बेइमानी भएको स्वीकार गरेका थिए । त्यसलगत्तै अमेरिकी मिडियाले हुआङसँग प्रेम सम्बन्धमा रहेकी एलिस हुआङ सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनी ‘मेगास्पिड’की पूर्वउच्च अधिकारी भएको र उनी चिनियाँ गुप्तचर निकायको सम्पर्कमा रहेको विवरण सार्वजनिक गरेका हुन् । अमेरिकाले प्रतिबन्ध लगाएका एनभिडियाका शक्तिशाली चिप (एच१०० तथा एच२००) चिनियाँ कम्पनीहरूसम्म पुर्‍याउन सोही कम्पनीको सञ्जाल प्रयोग भएको आशंकामा अमेरिकी अधिकारीहरूले गम्भीर छानबिन सुरु गरेका छन् ।

यो जासुसी प्रकरण बाहिरिएसँगै चीनका प्रमुख एआई कम्पनीहरूमा चर्को छटपटी सुरु भएको छ । अमेरिकी प्रशासनले आगामी दिनमा चिपको रिमोट पहुँचमा समेत पूर्ण रोक लगाउने भएपछि चिनियाँ व्यवसायीहरू विदेशमा रहेका डेटा सेन्टरहरूको कम्प्युटिङ क्षमता लामो समयका लागि भाडामा सुरक्षित गर्न दौडधुप गरिरहेका छन् । त्यस्तै कालोबजारमार्फत प्रतिबन्धित चिपको अवैध भण्डारण गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।

यसैबीच अमेरिकी प्रतिनिधिसभाले पारित गरिसकेको ‘रिमोट एक्सेस सेक्युरिटी एक्ट’ (आरएएसए) विधेयकलाई सिनेटबाट पनि तत्काल पारित गराउन अमेरिकी राजनीतिमा तीव्र दबाब बढेको छ । यो कानुन लागू भएमा चिनियाँ कम्पनीहरूले क्लाउडमार्फत समेत अमेरिकी चिप प्रयोग गर्न पाउने छैनन्, जसले चीनको महत्वाकांक्षी एआई परियोजनाहरूलाई सुस्त बनाउने निश्चित देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा