काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै शानदार जित हात पारेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमा अलआउट भयो।
यो जितसँगै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक बटुलेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। समान ८ अंक रहेको काठमाडौँ गोर्खाज नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ। यता जनकपुर भने ६ खेलमा चौथो हार बेहोर्दै ४ अंकका साथ तालिकाको पाँचौँ स्थानमा खुम्चिएको छ र उसको प्लेअफ सम्भावना संकटमा परेको छ।
जनकपुरको ब्याटिङ ध्वस्त, सुदूरपश्चिमका बलरको दबदबा
१ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरका ब्याटरहरू सुदूरपश्चिमको कसिलो बलिङ अगाडि निरीह सावित भए। टोलीका कुनै पनि ब्याटरले जिम्मेवारीपूर्वक खेल्न नसक्दा टोली १९.५ ओभरमै ९३ रनमा अलआउट हुन पुग्यो।
जनकपुरका तृतराज दासले बनाएको २१ रन नै टोलीको व्यक्तिगत उच्च स्कोर बन्यो। जिम्मी निसमले २० रन र आदित्य महताले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुदूरपश्चिमका लागि तीव्र गतिका विदेशी बलर स्कट कुग्लेजिनले घातक बलिङ गर्दै ३ विकेट हात पारे। साथै हेमन्त धामी, इशान पाण्डे, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट झारे।
सुदूरपश्चिमको इनिङ्स र हरमितको ४ विकेट
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रनको योगफल खडा गरेको थियो। उसका लागि ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्काको मद्दतले सर्वाधिक ३३ रन जोडे। थारिन्दु रत्नायकेले १६, आरिफ शेखले ११ र विनोद भण्डारीले १० रनको योगदान दिए।
जनकपुरका कप्तान हरमित सिंहले सानदार बलिङ स्पेल गर्दै ४ ओभरमा मात्र १० रन दिएर ४ विकेट लिएका थिए। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १–१ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
बुधबार खेल नहुने, बिहीबार दुई रोमाञ्चक खेल
जारी एनपिएलमा बुधबार कुनै पनि खेल हुनेछैन। लिग चरणअन्तर्गत बिहीबार दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने तालिका छ।

