एनपीएलमा आज चार टोलीको अग्निपरीक्षा : कर्णालीविरुद्ध पोखरालाई जित्नैपर्ने दबाब, साँझ चितवन र काठमाण्डु भिड्ने

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई उच्च प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुँदैछन् । प्रतियोगिताको लिग चरण अन्तिम चरणतर्फ उन्मुख भइरहँदा शीर्ष चारमा स्थान बनाउनका लागि टोलीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । आज हुने पहिलो भिडन्तमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज प्रतिस्पर्धामा उत्रिनेछन् ।

दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा मैदान प्रवेश गर्दैछ । लगातार चार खेलमा हार बेहोरेको पोखराका लागि प्लेअफको आशा जीवित राख्न बाँकी रहेका सबै खेल जित्नुपर्ने बाध्यता छ । अर्कोतिर, चार खेलबाट दुई जितसहित चार अंक बटुलेको कर्णाली याक्सले यसअघिका खेलहरूमा उच्च प्रदर्शन गरिसकेको छ । कर्णाली आजको खेल जित्दै अंकतालिकामा सुधार गरी शीर्ष चारको दौडमा आफूलाई मजबुत बनाउने रणनीतिका साथ मैदानमा उत्रनेछ ।

यस्तै, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा उत्कृष्ट लयमा रहेको काठमाण्डु गोर्खाज र सन्तुलित टोली चितवन राइनोज आमनेसामने हुनेछन् । तीन लगातार जित निकालेको काठमाण्डु आठ अंक पुर्‍याउँदै प्लेअफ सुरक्षित गर्ने दाउमा छ भने पाँच अंक जोडेको चितवन शीर्ष स्थानमा दबाब सिर्जना गर्न जितको खोजीमा हुनेछ । दुवै टोलीमा अन्तर्राष्ट्रिय तथा अनुभवी नेपाली खेलाडीहरूको बाहुल्य रहेकाले कीर्तिपुरको मैदानमा आज साँझ क्रिकेटको भव्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा