सचिवालयबाट हटाइएका ३ जनाले भने : प्रधानमन्त्रीलाई स्वार्थ समूहको चंगुलबाट निकाल्न आवश्यक

काठमाडौँ : प्रधानमन्त्रीको सचिवालयबाट हटाइएका तीन सदस्यले स्वकीय सचिव आदर्श श्रेष्ठको राजीनामा माग्दा आफूहरूलाई हटाइएको भन्दै गुनासो गरेका छन् । साथै प्रधानमन्त्री कार्की स्वार्थ समूहको चंगुलमा परेको आरोपसमेत लगाएका छन् ।

युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल र स्वकीय शाखा अधिकृत आकृति घिमिरेले विज्ञप्ति जारी गर्दै प्रतिशोधले तीन जनाको नियुक्ति खारेज गरिएको उल्लेख गरे। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले घेराबन्दीमा पारेर आफूहरूविरुद्ध कदम चालिएको उनीहरूको दाबी छ ।

श्रेष्ठले सचिवालयमा श्रीमतीसहित नातेदारलाई नियुक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर श्रेष्ठको बचाउ गरेको थियो । आलोचनापछि बुधबारमात्र प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको आकार घटाउने निर्णय गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालयमा कार्यरत १४ जनाको पद खारेज गर्दै ६ जनामा सीमित गरेकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्पष्टीकरणको ढाँचामा स्वकीय सचिवालयको लेटरहेडमा अर्को विज्ञप्ति आएपछि हामीले आपत्ति जनायौँ । भदौ २३ को जेनजी आन्दोलन सबै खाले भ्रष्टाचारविरुद्ध थियो । हामी पनि नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध उभिएका थियौँ । त्यसैले आन्दोलनपछि बनेको सङ्क्रमणकालीन सरकारको क्रममा नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन हुन सकेन । हामीले यसको आलोचना र विरोध गर्‍यौँ।’

‘श्रेष्ठले गरेका कामलाई प्रश्रय दिने गरी सचिवालयको लेटरहेडमा विज्ञप्ति आएको विषयमा प्रेस सल्लाहकार राम रावल पनि जबाफदेही हुनुपर्छ,’ उनीहरूको विज्ञप्तिमा उल्लेख छ । साथै, प्रधानमन्त्रीलाई स्वार्थ समूहको प्रभावबाट मुक्त हुनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

सचिवालयबाट हटाइएका सदस्यहरूले प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको चंगुलमा परेको आरोप समेत लगाएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफन्त भर्तीको विषयमा आवाज उठाउँदा आफूहरूलाई हटाइएको बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन हुन सकेन । हामीले आलोचना र विरोध गर्‍यौँ । त्यसपछि प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रतिशोध साँधेर हाम्रो नियुक्ति खारेज गरिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

‘हामी तीन जनाले भने यो बीचमा एक दिन पनि गयल नभईकन आफ्नो काम अहोरात्र खटिएर गरेका छौँ । तर जब हामीले नातावादको विरोध गर्‍यौँ, तब मुख्य संदिग्धलाई नभई हामीलाई बर्खास्त गर्नुले सम्माननीय प्रधानमन्त्री कुनै एक व्यक्ति वा व्यक्तिगत स्वार्थ समूहको चंगुलमा परेको हामीलाई आभास भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा