काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा दुरुपयोग प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ती कर्मचारीहरूविरुद्ध उजुरी परेपछि सरुवा गरिएको हो ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएपछि गृह मन्त्रालयले उनलाई मन्त्रालयमै तानेको हो । भट्टराई जेठ ६ गते मात्र अध्यागमनबाट मन्त्रालयमा सरुवा भएका थिए । भोलिपल्ट, जेठ ७ गते, अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।
अन्य आठ कर्मचारीमध्ये प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी, र नरबहादुर थापालाई क्रमशः जिल्ला प्रशासन कार्यालय काठमाडौं र बाँकेमा सरुवा गरिएको छ । ती सबै नायब सुब्बा पदमा कार्यरत थिए ।
सहायक कम्प्युटर अपरेटरका रूपमा कार्यरत कमला श्रेष्ठ, उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
सरुवाको सिफारिस गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले गरेका हुन् । अख्तियारले सहसचिव भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि पठाइसकेको छ ।

