काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनले युद्ध शान्तिका लागि रुसले कब्जा गरेको भूमि त्याग्नुपर्ने बताएका छन्। सोमबार उनले युक्रेनले २०१४ देखि रुसले नियन्त्रणमा लिएका क्षेत्रमा आफ्नो दाबी गर्न नहुने उल्लेख गरे।
‘यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा दुबै पक्षले बुझ्न आवश्यक छ,’ रुबियोले भने, ‘रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन, त्यस्तै, युक्रेनका लागि पनि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउनु कठिन हुनेछ।’ उनले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन आह्वान गरे।
रुबियो साउदी अरब पुगेका छन्, जहाँ उनले युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। केही दिनअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादका कारण सफल हुन सकेको थिएन। त्यसपछि उत्पन्न तिक्तता कम गर्न अमेरिकी विदेशमन्त्री युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि साउदी पुगेका हुन्।
