काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । बिहीबार सुनको भाउ एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले बिहीबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ पुगेको छ ।
चाँदी प्रतितोला ३,९२० रुपैयाँ कायम :
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा तोकिएको छ ।
विश्व भूराजनीतिक अवस्था, अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण तथा केन्द्रीय बैंकहरूको नीतिका कारण बहुमूल्य धातुको मूल्य निरन्तर आकाशिएको विश्लेषकहरू बताउँछन् ।
