काठमाडौं — नेपालका लागि विभिन्न छ मुलुकका नव नियुक्त गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली र ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ छन्।
समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नव नियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसबाट राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।
