काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देश हाल निर्वाचनमय बनिसकेको बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले सबै राजनीतिक शक्ति आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेकाले चुनाव तोकिएकै समयमा हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा उनले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै मतदाताले नेतृत्व छान्दा बुद्धि-विवेक प्रयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार चुनावको बेला विवेक नलगाई पछि गुनासो गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । सही नेतृत्व, विशेषतः युवापुस्ताबाट आउने सक्षम नेतृत्व चयन गर्न उनले आग्रह गरे ।
यसबाहेक, घिसिङले अघिल्लो पुस्ताका नेताहरूले राजनीतिक परिवर्तन गरे पनि विकासको नेतृत्व गर्न भने चुकेको दाबी गरे । अहिले देशलाई विकासको दिशामा लैजाने नेतृत्व आवश्यक रहेको उनको तर्क थियो ।
‘सही लिडरसिप सेलेक्सन तपाईँहरूले गर्नुस् । त्यो सबैभन्दा महत्त्वपूर्ण समय अहिले आएको छ । त्यो समयलाई सदुपयोग गर्नुस् । सही व्यक्तित्व, नयाँ लिडरसिप, योङ लिडरसिपहरू जसले देशलाई परिवर्तन गर्न सक्छ, देशलाई एउटा नयाँ दिशा दिन सक्छ ।’ उनले भने ।

