महिला नेतृसँग पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन्।

लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार बेलुका आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेश : नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताए। ‘पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,’ नेता सिटौलाले भने। 

पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे। संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको समेत उनले स्पष्ट पारे।

महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको भनाइ थियो। ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,’ उनले भनिन्। 

मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको उनले बताइन्। संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। 

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डिला संग्रौलाले नेपालमा आधाभन्दा बढी जनसंख्या भएको महिला कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गरिन्। संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको उनको भनाइ थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा