आज प्रधानमन्त्रीबाट धरहराको उद्घाटन हुँदै

spot_img

काठमाडाैं- भूकम्पले ढलेको ६ वर्षपछि नयाँ धरहरा ठडिएको छ। सुनधारामा नवनिर्मित धरहराको आज उद्घाटन हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे धरहराको उद्घाटन गर्ने कार्यक्रम छ।

२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरासँगै जोडेर नयाँ धरहरा बनाइएको हो। भूकम्पबाट क्षतिग्रस्त धरहरालाई भने सिसाले छोपेर राख्‍ने तयारी गरिएको छ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको सम्झनास्वरुप १९८२ सालमा धरहराको निर्माण गर्न लगाएका थिए। १९९० सालको भूकम्पले भत्किनु अगाडि धरहरा ११ तलाको थियो। १९९०  माघ २ को भूकम्पले बर्दाली माथिको १० र ११ तला भत्किएको थियो। ९० सालमा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दुई वर्षपछि नाै तला नै कायम गरी धरहराको पुन:निर्माण गराएका थिए।

०७२ सालको भूकम्पले नाै तले धरहरा पूर्णरुपमा ध्वस्त बनाएको थियो। नयाँ बनाइएको धरहरा २२ तलाको छ। 

राष्ट्रिय पुनिर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको निर्माणमा सिमेन्ट, फलामलगायत आधुनिक प्रविधिको प्रयोग गरिएको छ। पहिलेको धरहरा चुना र सुर्कीले बनेको थियो। धरहराको गजुरमा ९८ केजी सुनको जलप लगाइएको प्राधिकरणको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने धरहरा सर्वसाधारणका लागि भने करिब आठ महिनापछि मात्रै खुला गरिने जानकारी दिइएको छ। 

धरहराको मुख्य संरचना ‘टावर’ बने पनि अन्य काम बाँकी नै छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा